बारामा एक महिलाको आफ्नै घरभित्र हत्या

Share:

बारा । बारामा एक महिलाको आफ्नै घरभित्र हत्या भएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो ।

कान्ति देवीको टाउको र कन्चटमा धारिलो हतियारले प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाका श्रीमान् बैजनाथ कुशवाहले आइतबार राति करिब ९ बजे खाना खाएर आफु टहल्न घर बाहिर निस्किएको र आधा घण्टापछि घरभित्र पस्दा श्रीमती मृत अवस्थामा भेटिएपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए ।

कुशवाहा दम्पति दुई जना मात्रै घरमा बस्दै आएका थिए । उनीहरुका तीन छोरा र एक छोरी अध्ययन र जागिरका लागि काठमाडौँमा छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

महिलाको शव पोष्टमार्टमका लागि सोमबार बिहान कलैयास्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: