कोरोना खोपः सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई आजबाट सुरु

Share:

काठमाडौँ । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप उपलब्ध गराउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।

नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा प्रयोगमा ल्याइएको कोरोनाविरुद्ध खोप ‘कोभिशिल्ड’ भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: