आज श्रीपञ्चमीः विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिँदै

Share:

पोखरा । आज श्री पञ्चमी पर्व । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी देशभर मनाइँदै छ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता समेत रहेको छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १० बजेर १७ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: