प्रधानमन्त्री ओलीको व्यंग्यः बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि प्रचण्डको हालत के होला?

868
0
Share:

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिद्धिने बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

नेकपा ओली पक्षले विराटनगरमा शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहलाई गलत बाटोमा नहिँड्न सुझाव दिएका हुन् ।

दाहालले राजनीतिमा गलत बाटो छानेको उनको नियति अब असफलता मात्रै रहेको ओलीले दाबी गरे । ‘सिद्धिइसकेको प्रचण्डलाई, २र४ सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरो हालिदिएको थिएँ । जुरो भएपछि अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार चल्यो । उहाँले हामीलाई सिध्याउन खोज्नुभयो,’ ओलीले भने,’उहाँको नियति अब असफलताबाहेक केही छैन ।’

‘प्रचण्डजीको माया लाग्छ । पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो । वैद्यले छाड्नुभयो, डाक्टर लिनुभयो । उहाँले नि छाड्नुभयो, अहिले झाँक्री लिनुभयो । वैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्री तर उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन,’ ओलीले भने,‘उहाँले गलत बाटो छान्नुभयो । राजनीतिमा गलत बाटो छान्नुभयो । विकासको बाटोमा तगारो हाल्न खोज्नुभयो । नेपालको राजनीतिमा अब उहाँले सफलता पाउने सम्भावना छैन ।’

उनले अझै पनि प्रचण्ड–माधव समूहलाई पार्टीमा फर्किन आग्रह गरे ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, मिसिन हुन्न भने भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै हाल्न सकिन्न ।’

कमेन्ट गर्नुहोस्
Share: