
पोखरा । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा एक व्यक्तिलाई प्रहरीले कास्कीको मादी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई निःशुल्क खाना, बस्न र विद्यालयमा पढाईदिने आश्वासन दिई ल्याईएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका–६ निवासी ४५ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
यही फागुन १५ गते शनिबार जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई बालबालिका सम्बन्धी कसूर अन्तर्गत मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।
प्रहरीका अनुसार हाल बालबालिकाहरुलाई सिविन नेपाल संस्थामा राखिएको छ भने बालबालिकालाई अभिभावकको जिम्मा लगाउन घर ठेगाना खोजी गर्ने कार्य शुरु गरिएको छ ।
