
पोखरा । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) महाधिवेशनमा होमिएको छ ।
टुकोनले आगामी चैत्र ६ र ७ गते देशभरीका आफ्ना ९५३ महाधिवेशन प्रतिनिधि मध्ये करिब ७०० को हाराहारीका महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौंमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्न तिव्र तयारी थालेको हो ।
२०७७ साल फाल्गुन १७ गते टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा महासंघको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि आर्थिक व्यवस्थापन, मन्च व्यवस्थापन, पाहुना सत्कार एवं व्यवस्थापन, स्वयंसेवक परिचालन लगायतका विषयहरुमा घनिभूत छलफल गरी विभिन्न उपसमितिहरू निर्माण गरेर अगाडी बढ्ने निर्णय गरेको हो ।
२०६२÷६३ को परिवर्तन पश्चात मुलुकमा देखिएको राजनैतिक अस्थिरता र कोरोना जस्ता महामारीले श्रमिक वर्गमा परेको मारलाई मध्यनजर गर्दै आसन्न महाधिवेशन पश्चात नेपालको ट्रेड युनियन आन्दोलनलाई नयाँ र फरक उचाईमा लैजानको लागी ‘सुरक्षित रोजगारीको सुनिश्चितता, मर्यादित ट्रेड युनियन आन्दोलनको आवश्यकता’ भन्ने सार्थक नाराका साथ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) अघी बढ्ने बैठकपछि टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले बताए।
