
काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ ।
सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्युँतिएका हुन् ।
एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।
सोमबारबाटै देशभरका पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको छ । सोहीक्रममा धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न लागिएको हो ।
२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सर्वोच्चको फैसलासँगै नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका हुन् ।
