
पोखरा । देशका पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भई अन्य क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली भएको हो ।
अहिले बिहान पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।
यस्तै, राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
