
काठमाडौँ । आज (बिहीबार) महाशिवरात्रि पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ ।
काठमाडौँको पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भगवान् शिवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान समेत गरिन्छ ।
