
काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
शुक्रबार बालुवाटारमा भएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
यसैबीच, बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको छ ।
एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए । भण्डारी राष्ट्रपति हुन् भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् ।
महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षका हुन् भने पौडेल ओलीको पक्षका हुन्।
सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो ।
