
पोखरा । पोखरामा अवैध रूपमा चन्दा उठाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका– १ नयाँ गाउँ मितेरी पुल नजिक लामा पोसाकमा टासी छोग्याल गुम्बा गजुरा नगरपालिका– २ कटानी रौतहटको रसिद लिई अबैध रुपमा रकम चन्दा उठाई ठगी गर्दै हिँड्ने ५ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाँउपालिका–१ आहाल डाँडा घर भई पोखरा– ९ पृथ्वीचोक बस्ने ४२ वर्षीय छिरिङ भन्ने निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।
उनीहरुलाई चन्दा बापत उठाएको रकम ४२ हजार चार सय ९१, रसिद ठेली, फाइल र रजिस्टरसहित चैत्र २९ गते दिउँसो ४ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास कुमार हमालले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले लामा पोसाकमा अबैध रुपमा रकम चन्दा उठाई हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
