ई–सेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य

Share:

पोखरा । नेपालमा अनलाइन मार्फत पैसाको कारोबार गर्ने अग्रणी कम्पनी ई–सेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा ई–सेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरे । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढि व्यवसाय तथा फर्म आबद्ध छन् ।

सम्झौता कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । उनले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताए ।

थापाले नगद भुक्तानीको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउदै अति नै मितव्ययी रहेकोले ई–सेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए ।

क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले भने– ‘परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यवसायलाई परिमार्जन गर्दै लैजाने क्रममा ई–सेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौँ । पछिल्लो समय क्यूआरकोे लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुँदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएका हौँ ।’

कार्यक्रममा ई–सेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सही र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग ई–सेवाले सहकार्य गरेको बताए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी। अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: