विद्यालयमा असुरक्षा भएमा सिकाइ प्रभाविति हुने चिन्ता

Share:

पोखरा । विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कूरीति, सामाजिक विभद्जस्ता घटनाका कारण विद्यार्थीहरुमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ ।

भोलिन्टर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहयोगमा शिक्षा पत्रकार समाजले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहश कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद, पालिकाका जनप्रतिनिधि, शैक्षिक निकायका प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकार भएकाहरु सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायतका पक्षमा पर्याप्तता हुनुपर्ने बताइएको हो । उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभाका विधायन समितिका सभापति मोहन रेग्मीले शिक्षा क्षेत्रमा प्रदेशसभा र सरकारबाट तर्जुमा गरिएका नीतिहरु कार्यान्वयनका क्रममा रहेकाले सुरक्षित विद्यालयको वातावरण आफूहरुको पनि उत्तिकै चासोको विषय भएको बताउनुभयो । उनले विज्ञहरुको अध्ययनबाट प्राप्त सुझावलाई नीति र अभ्यासका क्रममा कार्यान्वयनका लागि आफूहरु तत्पर रहेको बताए ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गैह्रसरकारी संस्थाहरुलाई समुदाय र विद्यायस्तरका वास्तविक समस्याको पहिचान गरी सहयोग गर्न आग्रह गर्दै कतिपय केन्द्रीय नीतिमा रहेका असावधानीका कारण गरीब र धनी विद्यार्थीको पहिचानमा अन्योल देखिएको टिप्पणी गरे ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सहसचिव तोयानाथ लम्सालले विद्यालयस्तरको शिक्षाको सञ्चालनको कार्यक्षेत्र स्थानीय तह भएकाले स्थानीय सरकारलाई क्षमतावृद्धि अनुगमनका लागि प्रभावकारी बनाउँदै शैक्षिक नीतिको कार्यान्वयन गरिएको जनाए ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक तिलक सिलवालले सामाजिक क्षेत्र र सञ्चार जगतले शैक्षिक समस्यालाई उत्तेजनात्मकरुपमा उठाउने मात्र नभई समाधानमूलक रुपमा पनि सम्बोधन पनि गराउनुपर्ने बताए ।

नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि लोचना अधिकारीले शिक्षा पत्रकारहरुले शिक्षकका सकारात्मक योगदानलाई पनि बाहिर ल्याउनुपर्ने बताए । कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक शयशंकर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षिक विद्यालयका लागि हासिल गरेका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताए ।

कार्यक्रममा भिएसओ नेपालका कार्यक्रम व्यवस्थापक सुशीलबाबु खनाल, शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटा र विश्वनाथ घिमिरे, पत्रकार प्रकाश ढकाललगायतले गुणस्तरीय र सुरक्षित सिकाइका लागि सम्बन्धित पक्षको हातेमालो आवश्यक रहेकामा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: