
पोखरा । हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।
सङ्घले आज जारी गरेको विज्ञप्ति अनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको हो ।
निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ ।
