मस्र्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु, दुई गम्भीर घाइते

Share:

मनाङ । मनाङको नासों गाउँपालिका–३ खोत्रोमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध१ख ५९२ नंको ट्रक मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

आठ जना सवार उक्त ट्रक शनिबार दिउँसो साँढे ३ बजेतिर ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको जनाइएको छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको छ । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको हो । जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुई जनाको शव अस्पतालमा राखिएको छ । घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: