
पोखरा । संचारिका समुह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारीता पुरस्कार २०७७ बाट यस वर्ष संचारिका समूह गण्डकी प्रदेशका पुर्व अध्यक्ष सुष्मा पौडेललाई पु्रस्कृत गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा, ब्रोडकास्टीङ एशोसियसन नेपाल (बान) की केन्द्रिय महासचिव दुर्गा अधिकारी र नेपाल आदिवासी जनजाती पत्रकार समुह (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष एमबि आस्था मगर सदस्य रहेको छनौट समितिले उक्त पुरस्कारका लागि पत्रकार पौडेललाई छनौट गरेको हो ।
पत्रकार सुष्मा पौडेल विगत डेढ दशक देखि पत्रकारीता क्षेत्रमा सक्रिय छिन् । उनी विसं २०६६ साल देखि २०६९ सम्म संचारिका समूह गण्डकी प्रदेश (साविक पश्चिमाञ्चल)को अध्यक्ष रहेर काम गरिसकेकी छन् । उनले पोखराबाट प्रकाशन हुने आदर्श समाज राष्ट्रिय दैनिक, सगरमाथा टेलिभिजन, पोखरा एफ एम लगायतका संचारमाध्यममा आवद्ध भएर काम गरेकी थिइन् । उनी हाल रेडियो जननीसँग आवद्ध छिन् ।
पत्रकारीता क्षेत्रमा महिलाको सक्रियता, सवलता र नेतृत्व क्षमता बृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले पोखराका सामाजिक व्यक्तित्व तथा पोखरा किन्डर गार्डेन विद्यालयका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैयाँको अक्षकोष मार्फत यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि रु २५ हजार, एक सय एक रुपैयाँ र सम्मानपत्र रहेको छ ।
संचारिका समूह गण्डकी प्रदेशले बिसं २०७१ साल देखि हरेक दुई–दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
पत्रकारीता क्षेत्रमा अनुभवि, संचारिका समुहमा संस्थागत योगदान दिएका र सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकार महिलालाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यसैगरी, उक्त छनौट समितिले संचारिका समुह गण्डकी द्वारा प्रदान गरिंर्दै आएको गुरुङ ब्युटि एकेडेमी जर्नलिज्म अर्वाड २०७७ बाट यस वर्ष क्रियाशिल पत्रकार प्रतिक्षा शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । शर्मा संचारिका समुह स्याङ्जा जिल्ला सचिव हुन् । उनले विगत लामो समय देखि कान्तिपुर दैनिकमा आवद्ध रहि पत्रकारीता गर्दै आएकी छन् ।
पत्रकार महिलालाई क्रियाशिल र पेशा प्रति जिम्मेवार बन्न हौसल दिने उद्देश्यले बिसं २०७१ सालमा चर्चित सौन्दर्य व्यवसायी चिनु गुरुङले आफ्नो कम्पनी गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी थिइन् । यो पुरस्कारको राशि रु १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
