
पोखरा । नेपाली काँग्रेस कास्कीले पार्टीका नेता एवम् समाजसेवी चक्रपाणी पौडेलको निधनप्रति शोक व्यक्त गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले मंगलवार विज्ञप्ति जारी गर्दै साविक भरतपोखरीको बरमाझथरमा वि.सं.१९९८ चैत १ गते शनिबार जन्म भई चैत २३ गते सोमबार तनहुँको देवघाटमा निधन भएका पौडेलको निधनले नेपाली काँग्रेस र सिङ्गो लोकातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
साविकको शिशुवा आदर्श गाउँ विकास समितिका अध्यक्ष पौडेलले नेपाली काँग्रेस लेखनाथ नगर समिति र देवघाट गाउँ विकास समितिको सभापतिका रुपमा काम गरिसकेको विज्ञप्तिमा भनिएको छ ।
शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका पौडेलले पोखरा विश्वविद्यालयको संस्थापक सदस्य, जनप्रकाश बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष, ब्रम्हरुपा मा.वि. राजाको चौतारा, त्रिभुवन शान्ति मा.वि. खुदी, बराह मा.वि. भेडाबारी, जनज्योति मा.वि. कालिकामा प्रधानाध्यापकका साथै शान्ति उदय मा.वि.मा शिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । निर्माणाधिन भरतपुर–देवघाट जोड्ने त्रिसुली नदी माथिको मोटरेवल पुल निर्माण समितिका अध्यक्ष रहेका पौडेलले विभिन्न संघ संस्थामा सल्लाहकारका साथै आजीवन सदस्यका रुपमा रही योगदान गरेको काँग्रेसले स्मरण गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पौडेल निरन्तर कृयाशिल रहेकोे उल्लेख गर्दै काँग्रेसले उनले २०४६ सालको जन आन्दोलनमा एक महिना जेल जीवन यापन गर्नुका साथै २०६२÷२०६३ को दोस्रो लोकतान्त्रिक आन्दोलनमा तत्कालिन सात राजनीतिक दलका तर्फबाट लेखनाथ नगर समितिको संयोजक भई नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरेको छ । लोकतन्त्रका हिमायती, शिक्षाप्रेमी समाजिक व्यक्तित्व पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
