
भक्तपुर । भक्तपुरमा आज शनिबारदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ ।
जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुवात गरिन्छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ । यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ ।
भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आठ रात नौ दिन मनाइने यो जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ ।
भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ ।
