
पोखरा । पोखरामा सम्पन्न १९ औँ आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले उचाललेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।
पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए ।
थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो ।
जितसँगै प्रतियोगिताको विजेता संकटाले १० लाख १ हजार रुपैँया पुरस्कार हात पारेको छ । उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए । यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे ।
