मास्क नलगाए सार्वजनिक कार्यालय र सवारीमा प्रवेश निषेध, चालक र सहचालकले पनि मास्क बेच्न पाउने

Share:

काठमाडौँ । सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।

यस्तै, चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

यसैगरी, सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।

कमेन्ट गर्नुहोस्
Share: