
पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेदेखि शुरु हुने भएको छ ।
संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् ।
वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले वैशाख १३ गते २ बजे विशेष अधिवेशन बोलाउँदै प्रदेशसभा सचिवालयमा पत्र पठाएका हुन् ।
प्रस्तावित मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन् । पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।
हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् ।
यस्तै, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।
