
पोखरा । छिमेकी देश भारतमा एकै दिन झण्डै ३ लाख जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ लाख ९४ हजार २९० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्ला दिनमा दैनिक रुपमा संक्रमित बढ्दै गएको भारतमा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
हाल भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।
यस्तै, भारतमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ । गएको २४ घण्टामा मात्रै २ हजार २० जनाको ज्यान गएको छ ।
योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३२ लाख ६९ हजार ८६३ जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख ६६ हजार ६४३ जना निको भएका छन् ।
हाल भारतमा २१ लाख ५६ हजार ५७१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
