
कास्की । राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश कार्यालय पोखरामा कार्यरत सहायक समाचारदाता हरि बास्तोला सहित विभिन्न सात व्यक्तित्व आज पोखरामा सम्मानित भएका छन् ।
माझठाना पोखरा सम्पर्क समाजको पाँचौ साधारण सभा एवम् तेश्रो अधिवेशनको अवसरमा राससकर्मी बास्तोला सम्मानित भएका हुन् ।
पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेशागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक डा. मानबहादुर के.सी, डा.निर्मल लामिछाने, पत्रकार केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र गणेश सुनार सम्मानित भएका हुन् ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेको कोभिड–१९ को पोखरामा दोश्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ लाग्न उनले अपिल गरे ।
सम्पूर्ण पोखरेलीहरुले कोरोनाका हेलचक्राई नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी सतर्कता अपनाउन आग्रह गरे ।
पोखरामा केही दिन यता गरिएको परीक्षणको आधारमा २० वर्ष उमेरका बालबालिका तथा युवामा कोरोनाको उच्च जोखिम देखिएको उल्लेख गर्दै प्रमुख जिसीले यही अवस्थामा सङ्क्रमण बढेमा पोखरामा ‘सेल्फ डकडाउन’ हुने बताए ।
कार्यक्रममा मेयर जिसीले समाजद्धारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सवैको साथ र सहयोगको आवश्यकता औल्याए ।
समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले समाजको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।
