
पोखरा । गण्डकी प्रदेश सभा बैठकमा आज (सोमबार) मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबल हुने भएको छ।
दिउँसो २ बजे शुरू हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने भएको हो।
पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको हो।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबल गर्नेछन्।
आज पहिलो दिन अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र दोस्रो दिन भोलि मंगलबार मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुनेछ।
अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ मत आवश्यक पर्छ। एमालेको २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन्।
