पोखराका ३१० सहित गण्डकीमा मंगलबार थप ४२९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Share:

पोखरा । पोखराका ३१० सहित गण्डकी प्रदेशमा आज मंगलबार थप ४२९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ९ वटा जिल्लाका ४२९ जनामा कोरोना देखिएको हो ।

गत २४ घण्टामा सबैभन्दा धेरै कास्कीका मात्रै ३१० जनामा कोरोना पुष्टि भएको छ । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका ५१ जना, बाग्लुङका ३३ जना, तनहुँका १६ जना, लमजुङका ८ जना, स्याङ्जाका ५ जना, मुस्ताङका ४ जना, तथा म्याग्दी र पर्वतका १/१ जनामा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार ८५३ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा थप ६३ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १७ हजार ७२ पुगेको छ ।

त्यसैगरी, गण्डकीमा मंगलबार थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार कास्की, पर्वत र म्याग्दीका एकएक जना संक्रमितको मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका– २९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख १८ गते शनिबार कोरोना पुष्टि भएको थियो ।

चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा म्याग्दीको मंगला गाउँपालिका– ६ का ७६ वर्षीय संक्रमित पुरुषको आज मंगलबार मृत्यु भएको हो । ती पुरुषमा बैशाख १७ गते शुक्रबार कोरोना पुष्टि भएको थियो ।

यस्तै, पर्वतको कुश्मा नगरपालिका– ४ का ८४ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुषमा बैशाख १९ गते आइतबार कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।

हाल प्रदेशभर २ हजार ५४६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २ हजार ३५४ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ९०३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४७ हजार ३२० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: