म नैतिकतामा उभिएर राजनीतिमा आएकी हुँ : ओनसरी

Share:


काठमाडौं
: पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) नेत्री ओनसरी घर्तीले रोल्पामा जाँड छानेर आएको भन्दै आफूलाई गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन्।

सत्ता गठबन्धनले बिहीबार काठमाडौँको कोटेश्वरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जाँड छानेर नभई संघर्षबाट आएको र नैतिकता बचाएर सभामुखको काम इमान्दारीपूर्वक चलाएको बताइन्।

‘हिजो पनि म जनतासँगै थिएँ आज पनि सँगै छु र भोलि पनि सँगै हुने वाचा गर्दछु। म विगतमा व्यवस्था परिवर्तनका लागि संघर्षको भट्टीबाट खारिएर अघि बढेकी रोल्पाली संघर्षशील चेली हुँ। अहिले म काठमाडौँ २ का लागि थपना उम्मेदवार होइन। देशभरका छोरीहरूका लागि आशाको, विश्वासको, भरोसा र भविष्यको एउटा सपना देख्ने उम्मेदवार हुँ। रोल्पामा जाँड छान्ने ओनसरी भनेर पनि कतिपयले सामाजिक सञ्जालमा भनेको मैले पढेकी छु। तपाईंहरूलाई स्मरण गराउँछु, निरंकुश राजतन्त्रविरुद्ध व्यवस्था बदल्न पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव मसँग छ’, घर्तीले भनिन्।

घर्तीले निर्वाचन जितेपछि पनि काठमाडौँ २ को विकासका मुद्दा लिएर मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाइन्। आफूले चुनावी घोषणापत्रमार्फत टनेल, स्पोर्ट सिटी, सम्पदा शहरलगायतका भिजन अघि सारेको भन्दै उनले ती प्रतिबद्धता कार्यान्वयन गराउन आफूसँग प्रष्ट योजना रहेको उल्लेख गरिन्। निर्वाचनपछि गठबन्धनको बलियो सरकार हुने चर्चा गर्दै उनले आफ्ना प्रतिबद्धता पूरा गरेरै छाड्ने बताइन्।

केपी ओलीको व्यवस्था र संविधान सिध्याउने, लोकतन्त्रिक व्यवस्था धावा बोल्ने हर्कतका कारण व्यवस्था जोगाउन र अवस्था फेर्न यो गठबन्धन बनेको उनको भनाइ थियो।

अबको ५ वर्ष यही गठबन्धनले संघीय सरकार र प्रदेश सरकारको नेतृत्व गर्ने तथा जनतालाई विकास र समृद्धि दिने विश्वास व्यक्त गरिन्। तथ्यहरूले केपी ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद भन्दै घर्तीले बाहिर चुच्चे नक्साको हल्ला गरेर भित्रभित्रै रअ प्रमुखसँग बालुवाटारमा मध्यरातमा मन्त्रणा गर्ने र चुच्चे नक्सासहितको पाठ्यक्रम छाप्न रोक लगाउने काम ओलीले गरेको बताइन्।

चुच्चे नक्सा छाप्ने निर्णय तत्कालीन नेकपाले गरेपछि बाध्यतामा परेर ओलीले क्याबिनेटबाट पास गरेको र संसद्ले सर्वसम्मतिले पारित गरेको बताइन्। ओलीकालका धेरै यस्ता नकारात्मक सूचक असर नेपाललाई भोलिका दिनमा अझ पर्ने बताइन्।

दुवै छिमेकी र सिंगो विश्वसँग सन्तुलित र नेपालको हितमा हुने गरी सम्बन्ध कायम गरेर नेपालीको शिर उचो हुने काम यही गठबन्धनले गर्ने उल्लेख गरिन्। 

गणतन्त्रलाई थप संस्थागत गराउन, संघीयताको कार्यान्वयन गराउन, जनताको जीवनस्तरमा सुधार गर्दै सामाजिक न्याय कायम गराउन र नेपाली जनताले चाहेको द्रुत गतिको विकासका लागि आवश्यक कानुन निर्माण गर्ने र संसद्‌मा त्यसका लागि पैरवी गर्नु आफ्नो दायित्व कर्तव्य र प्राथमिकता हो भन्ने आफूले राम्ररी बुझेको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
Share: