
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए ।
‘देशभरको रिपोर्टिङले उत्साहित छु’, संचारकर्मीसँग उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।’
उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए ।’हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ’, उनले भने।
पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । ‘एकछिन मतपत्र हेरेर बसेँ’, उनले भने, ‘ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।’
देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उनले बताए । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए । लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताए । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ ।
