
काठमाडौं : सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको आरोप लगाएका छन्।
यादवले मतपरिणाम रहस्यमयी भएको बताउँदै जनताको निर्णयको भने सम्मान गर्ने बताएका छन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादवले फेसबुकमार्फत चुनावमा पार्टी भित्रै र बाहिरबाट पनि षड्यन्त्र भएको टिप्पणी गरे।
उनले भनेका छन्, ‘चुनाव एउटा राजनीतिक प्रक्रिया हो। जसमार्फत् जनताले आफ्नो प्रतिनिधि छान्ने हो। चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुँइको मैले पनि पाएको छु। यसको पनि मूल्याङ्कन हुने नै छ। र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन।’
उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, ‘यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ। नव निर्वाचित जनप्रतिनिधिहरूलाई हाम्रो साथ सहयोग रहने नै छ।’
