एमाले सडकमा आन्दोलन गर्न पुगेपछि मतगणना अलपत्र

Share:

स्याङ्जा : मतदान सकिएको एक हप्ता हुन लागेको भए पनि स्याङ्जा क्षेत्र नं. २ को मतगणना अझै सुरु हुन सकेको छैन । 

मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट मतदाताले प्रदान गरेको मतपेटिका नगरपालिका भित्रको एक कोठामा राखिएको छ । मतपेटिका भित्र थन्क्याएपछि एमाले सडकमा आन्दोलन गर्न पुगेपछि मतगणना अलपत्र परेको बत्ताइएको छ। 

चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दल अहिले सडकमा धर्ना दिइरहेका छन् । 

चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो ।

यसैबीच, निर्वाचन आयोगले गठन गरेको छानबिन टोली स्थलगत अवलोकन तथा छलफलपछि शनिबार काठमाडौं फर्किएको छ । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दललगायतसँग छलफल गरेको थियो । टोलीलाई तीन दिन भित्र अर्थात् मङ्सिर १२ भित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: