
वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरूको मृत्यु भएको हो । दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एक सय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसंघले जनाएको हो ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिएका छन् । यहाँ पछिल्ला केही महिनायता अपर नाइल राज्यमा यस्तो हिंसा भएको छ ।
गएको चार महिनामा मारिनेहरूमा पनि अधिकांश यही राज्यका नागरिक रहेको बताइएको छ । उच्च आयुक्त टर्कले सो क्षेत्रबाट हजारौँ नागरिक विस्थापित पनि भएका छन् ।
विस्थापित हुनेहरूको अवस्था निकै नै नाजुक रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । सो क्षेत्रमा पछिल्ला केही समययता जातीय एवं लैंगिक प्रकारको हिंसा धेरै हुने गरेको पनि बताइएको छ । यस्तो हिंसामा नागरिकको हत्या, अपहरण, लुटपाट तथा उनीहरूका निजी सम्पत्ति ध्वस्त पार्ने गरिएको बताइएको छ ।
