कम बज्न थाले ‘पञ्चेबाजा’

Share:

बागलुङ : एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे  । तर अहिले पञ्चेबाजा कम बज्छन् भने तिनका ठाउँमा ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गर्छन्  ।

युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन्  । अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर गुजारा चलाउँदै आएकाहरू समस्यामा पर्न थालेका छन्  । अहिले पढेलेखेका पुस्ताले बाजा बजाउन लाज मान्दासमेत पञ्चेबाजा हराउन लागेको हो  । सीमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन्  ।

 विशेष गरी परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोपहुँदै गएको उनीहरूको भनाइ छ  ।

बाजा बजाउने काम स्थायी पेसा नभएकोले हराउँदै गएको बागलुङ ढोरपाटनका पदमबहादुर दर्जीले बताए  । शुभकार्यमा विदेशी बाजाले स्थान पाउँदा मौलिक बाजा हराउँदै गएको उनको भनाइ छ  ।

समाजमा अझै पनि कायम रहेको जातीय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको र बाजा बजाएर गुजारा नचल्ने भएकाले पनि बाजा हराउन लागेको दर्जी बताउँछन्  । “अहिले पनि हाम्रो समाजमा बाजा बजाउने जातीलाई हेप्ने, फरक नजरले हेर्ने गर्छन्, अहिलेका छोरा नातिहरूले बजाउन सिक्ने चासो दिँदैन, हामी र हाम्रो पूर्खाहरूले पढेनौँ, बाजा बजाएर कमाई खाइयो,” दर्जी भने, “नयाँ पुस्ताले बाजा बजाउन लजाउँछन्, बजाउन पनि जान्दैनन्, हाम्रो सासपछि त बाजा बजाउने चलननै सकिने भयो  ।” उनले पहिले बाजा बजाउने एउटा समूहमा १०÷१५ जनाभन्दा बढी हुने गरेको भन्दै अहिले नौँ जना पनि पुग्न मुस्किल हुने बताउँछन्  ।

सीमित मान्छेले नौमती बाजा बजाउन नसकिने जनाउँदै यसका लागि न्यूनतम नौँ जना हुनैपर्ने उनको भनाइ छ  । ५८ वर्षीय दर्जी भन्छन्, “नौमती बाजा बनाउन कम्तीमा पनि नौँ जनाको समूह त हुनैपर्छ, नौँ जनाभन्दा कम भए बजाउन सकिँदैन, ताल मिल्दैन, अहिले टिम पुर्‍याउनै गाह्रो हुन्छ, बुढापाकाले बजाउन सक्न छोडिसके, हाम्रो उमेरका कम छौँ  ।”

स्थानीय बिर्खबहादुर परियारले युवापुस्ता प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउँछन्  । पछिल्लो समय गाउँघरमा पहिले जस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण नदेखिने उनको भनाइ छ  ।  पाकापूर्खाको पेसा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको उनको अनुभव छ   ।

“मैले जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको थिए, अहिले त हातखुट्टा चल्न छोडे टाढा–टाढा पुगेर बजाउन सक्दैन, आँखा पनि कमजोर भए,” ७७ वर्षीय परियारले भने, “पहिले त कसैको बिहे, छैँटी, भातखुवाई हुँदा बाजा बजाउन जान्थ्यौँ, अहिले त बिवाहामा पनि गीत बजाएर नाच्न थाले, बाजा त कमै ठाउँमा मात्रै बज्छन्  ।”

पछिल्लो समय परियार समुदायका व्यक्ति पनि शिक्षित हुँदै गएको र बाजा बजाउने पेसालाई नकरात्मक रुपले सोच्ने गर्दा पञ्चेबाजा सङ्कटमा परेको उनको भनाइ छ  । उनले बाजा बजाएर परिवार पाल्नसक्ने अवस्था नहुँदा बाजा बजाउने सीप भएका युवा विदेशीन बाध्य भएको बताए  । बाजा संरक्षणका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी रहेको बताए  ।

उनले भने, “पञ्चेबाजा त हाम्रो संस्कृति हो, ठूलो सम्पत्ति हो, यसलाई बाजा बजाउने समुदाय र सरकारले पनि चासो दिनुपर्छ, अहिलेको रुपमा बाजा बजाउने समुदायप्रति हेरिने हेराइ फेरिएन भने पछिका हाम्रा पुस्ताले पञ्चेबाजा देख्ना र सुन्न पाउँदैनन्, मलाई त निकै चिन्ता लागेको छ, अहिले त बाजासँग मादल पनि देखिन र बजाउन छोडि सके  ।”

स्थानीयवासी मुरारी नेपालीले बाजा बजाउन छोडेपछि परिवार पाल्नसमेत गाह्रो हुने अवस्था आएको बताए  । नेपालीले गाउँमा विवाह, व्रतबन्ध र मेला महोत्सव हुँदा बाजाको सट्टा स्पिकर बजाउन थालेपछि आफूहरूको पेसा संकटमा परेको गुनासो गरे  ।

उनले पहिले बाजा बजाएर मासिक ३० हजारभन्दा बढी आम्दानी गरेको हुनाउँदै अहिले दुई हजार पनि कमाई नहुने बताउँछन्  ।

“अहिले त बाजा बजाउन कसैले पनि बोलाउँदैनन्, बोलाए पनि बजाउने मान्छे छैनन्, पहिले बाजा बजाएरै परिवार पाले, छोराछोरी पढाएँ, अहिले कमाइ केही छैन, परिवार चलाउन गाह्रो होला जस्तो छ” नेपालीले भने, “पहिले त बाजा बजाउँदा बजाउँदा घरको काम गर्ने फुर्सद हुँदैनथ्यो, धेरै समय भयो मैले बाजा बजाउन छोडेको, हाम्रा पूर्खाले चलाएको चलन हराउँदा दुःख लागेको छ  ।”

कमेन्ट गर्नुहोस्
Share: