
कास्की : नेवाः छेः (नेवार घर) मा शनिबार दिनभर भोज चल्यो । भोजमा अधिकांश नेवार समुदायका व्यक्ति हुनुहुन्थ्यो । केही संख्यामा अन्य समुदायका पाहुनालाई आमन्त्रण गरिएको थियो ।
उनीहरूलाई झ्वः भ्वय नेवारी सांस्कृतिक भोजमा निम्तो दिइएको हो । छेः को तल्लो हलको चारैतर्फ विछ्याइएको चकटीमाथि बसेर पाहुनाले टपरीमा नेवारी खाना खाइरहेका थिए । पाहुनाकै बीचमा बसेर मिष्ठान्न भोजन गरिरहेका थिए शिक्षण पेसामा आवद्ध उपेन्द्र पौडेल । विद्यालय विदा भएकाले उनी नेवार साथीको निमन्त्रणामा त्यहाँ पुगेका थिए ।
पलेँटी कसेर खाना खाइरहेका पौडेलले फरक अनुभव लिएको प्रतिक्रिया दिए । कतिपय परिकार पहिलो पटक खाँदा मीठो लागेको उनको भनाइ थियो । “नेवारी समूदायका लागि सामान्य होला तर म ब्राह्मण भएर यो भोजमा आउँदा विशेष अनुभव लिएको छु,” उनले भने, “हाम्रोमा लप्सीको झोल खाने चलन हुँदैन । अनि यहाँ मेथीको अचार खान पाउँदा निकै मज्जा आयो ।”
भोजमा सहभागी पर्वतका वीरेन्द्र गुरुङले पनि नेवारी परिकार खान पाउँदा नौलो अनुभव लिएको बताए । उनले समूहमा बसेर नेवारी परिकार पहिलो पटक खाएको प्रतिक्रिया दिए । “मेरा लागि यो फरक अनुभव भयो । धेरै पटक नेवारी परिकारको बारेमा बयान मात्र सुन्थे आज खाएरै अनुभव लिइयो,” उनले भने, “नेपालमा विभिन्न जातजाति छन्, उनीहरूका आ–आफ्नै परिकार छन् यसरी ती खानाको आदानप्रदान हुनु जरुरी छ ।”
पौडेल र गुरुङलाई जस्तै करिब एक हजार दुई सय पाहुनालाई नेवारी परिकार चखाउने चाजोपाजो नेवाः मिसा पुचः कास्कीले मिलाएको थियो । नेवाः खल कास्कीको आह्वानमा झ्वः भ्वय नेवारी सांस्कृतिक भोज आयोजना गरिएको कार्यक्रम संयोजक मोहीनी श्रेष्ठले जानकारी दिइन् ।
बढ्दो आधुनिकतासँगै परम्परागत मौलिक खानाका परिकार तथा मौलिक भोजको परम्परालाई पार्टीले विस्थापन गर्न लागेकाले खाना संस्कृति जगेर्ना गर्न भोजको आयोजना गरेको श्रेष्ठले बताइन् । भोजमा सबै उमेर समूह र सबै समुदायको उपस्थिति भएको उनले जानकारी दिए ।
नेवारी समुदायमा झ्वः भ्वयको आफ्नै महत्व रहेको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ‘झ्व’ भन्नाले मिलेर लस्करै बस्ने भन्ने अर्थ लाग्दछ भने ‘भ्वय’को अर्थ भोज रहेको उनले बताए । यसरी लामो सुकुलमा लहरै बसेर टपरीमा खाने भएकाले यस भोजलाई झ्वः भ्वय भनिने उनको भनाइ थियो ।
यस भोज वैज्ञानिक दृष्टिकोणलेसमेत महत्व रहेको अध्यक्ष पालिखेले जानकारी दिए । यसमा प्रोटिनका लागि मासु, गेडागुडी, कार्बोहाइड्रेटका लागि चिउरा, आलु, भिटामिनका लागि हरियो साग, काउली, दही, एसिडिटीका लागि लसुन, कफका लागि अल्कोहल, प्रेसरका लागि मेथी, पाचनका लागि अमिलोको झोल राखिने उनले जानकारी दिए ।
यी परिकार राख्ने पनि एक नियम हुन्छ । सुरुमा सालको पातको लपेस (टपरी) मा चिउरा, लसुन, अचार, तखाला, सङाखु (एक प्रकारको मासुको परिकार) राखेर सुरुवात गर्ने अध्यक्ष पालिखेले सुनाए । भोज खान सुरु गरेपछि मासुसँगै मुलाको अचार, गोल्भेडाको अचार, केराउ, सिमि, आलु काउली, रक्सी दिने गरिन्छ ।
दोस्रो पटक मेथी, भुटन, र अमिलोको झोल राख्ने गरिन्छ । तेस्रो पटक दही र सिसापुसा (सलाद) राखेपछि भोज सकिने उनले बताए । मौलिकपनाको जगेर्नाले मात्र संस्कृति जीवन्त रहने भएकाले कार्यक्रम आयोजना गरिएको नेवाः मिसा पुचः कास्की अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । हरेक जातजातीले आफ्नो संस्कारलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो ।
