चिसो बढेपछि बस्ती नै छाडेर बेँसीमा

Share:

मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका गाउँ छोड्न थालेका छन्। हिमपातसँगै कठ्याङ्ग्रिँदो चिसोका कारण बस्न नसकिने भएपछि उनीहरूले गाउँ छाड्न थालेका हुन्। 

हरेक वर्ष उनीहरू मंसिरर, पुस, माघ र फागुन चार महिना उनीहरू गाउँ छाड्न बाध्य हुन्छन्। चिसोमा बेँसीतिर झरेसँगै उक्त हिमाली बस्ती सुनसान बन्छ। 

यतिवेला मुगु, चितै, डोल्फु, किम्री, कार्तिकलगायत बस्तीका स्थानीयवासी बेँसी झरिसकेका छन्। हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौँ, सुर्खेत, नेपालगञ्जतिर र कोही भारत कुल्लीमुलालीतर्फ गएका छन्।बेँसी झरेका स्थानीयवासी गर्मी मौसम सुरु भएसँगै  गाउँतिर उक्लिन थाल्छन् । 

चिसोले गर्दा यहाँका स्थानीयवासी हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए। चिसो खप्न नसकेर स्थानीयवासी बाहिरिने गरेपछि मङ्सिरदेखि फागुन महिनासम्म सो बस्तीमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। 

स्थानीयवासी बाहिरिएपछि त्यहाँ कार्यरत कर्मचारी पनि गाउँपालिकाकेन्द्रित हुन्छन्। मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरीचौकीलाई पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ। करिब चार महिनासम्म सीमा प्रहरीचौकी बन्द हुन्छ। मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरिएपछि प्रहरीचौकीमा कार्यरत प्रहरी जवानलाई पनि जिल्लामा डाक्ने गरिएको छ। ​गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयमा जाडो बिदा दिने गरेको छ।

१७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी आठ महिना मात्रै गाउँमा बस्छन्। मौसमी बसाइ, भौगोलिक विकटता, गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए। 

कमेन्ट गर्नुहोस्
Share: