
काठमाडौं : उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन्। चाहना हुँदाहुँदै पनि अनेक बाध्यता आए। पढ्ने रहर मनमा छँदै थियो। इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन। यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन्। तिनै अधुरो सपना र पढाई भएकाका लागि नक्सालस्थित नन्दी रात्रि मावि एउटा राम्रो ठाउँ हो।
विद्यालयमा अहिले २ सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन्। पढ्ने उमेरमा विद्यालय जान नपाएकाका लागि अहिले ढुङ्गा खोज्दा देउता पाएजस्तो भएको छ। विद्यालयमा रात्रि शिक्षा लिनेमध्ये धेरै विद्यार्थी दिउँसो काम गर्छन्। दिनभरि काम गर्ने उनीहरू आफ्नो थकान र भोकसमेत भुलेर साँझ ढल्केपछि विद्यालयतिर दगुर्छन्।
कुनै वेला ‘भागवत गीता’ पढ्न स्थापित उक्त विद्यालय दिनभरि श्रम गरेर राति ढुक्कसँग पढेर शैक्षिक योग्यता बढाउने विद्याको मन्दिर भएको छ। विद्यालयमा १३ जना शिक्षकको दरबन्दी छ। काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्ने विद्यार्थी यहाँ रात्रि शिक्षा लिन आउँछन्। विसं २००७ देखि भर्ना शुरु गरेको विद्यालयमा शुरुमा ८, ९ र १० कक्षाको पढाई हुन्थ्यो।
संस्थापक रामजीप्रसाद अर्यालले हाँडीगाउँबाट भर्ना शुरु गरी नन्दीकेशर बहालमा सारेर पठनपाठन शुरु गराएका थिए। विसं २०३० मा प्रौढ महिला मन्दिर, नन्दी विद्यालय, रात्रि पाठशाला र गुरुकुल शिक्षालयलाई गाभेर नन्दी रात्रि माविका नामबाट सञ्चालन गरियो। त्यसपछि २०४७ सालमा नन्दी रात्रि मावि र नन्दी मावि नाम राखेर छुट्टै व्यवस्थापनमा चल्यो।
चावहिलका चेतनाथ पराजुली सरकारी जागिरे भए पनि आफ्नो शैक्षिक योग्यता बढाउने हुट्हुटीले उनलाई यही विद्यालयसम्म ल्याइदियो। उनी दिउँसो कार्यालयको काम सकेर कक्षा ११ मा पढ्न आइपुग्छन्। छोराले पढ्न जान नमानेपछि आफैँ पढ्न आएको उनले बताए।
‘छोराको भर्ना गर्न जाँदा उसले पढ्दिनँ भनेपछि त्यही रिसमा म आफैँ पढ्नु पर्याे भनेर यहाँ आएर भर्ना भएँ,’ उनले भने, ‘मलाई पढ्ने मन पहिलैदेखि नै थियो तर मिलेको थिएन, ३२ वर्षपछि फेरि विद्यालयमा पाइला टेकेँ।’
समयले साथ दिएसम्म उच्च शिक्षा पढ्ने उनको इच्छा छ। कार्यालयमा काम गर्दा थकाइ भए पनि विद्यालय प्रवेश गरेपछि पढ्ने जोश आफैँ आउँछ उनलाई। ‘अन्य विद्यालयमा दिउँसो धेरै विद्यार्थीहरू आउने र हो–हल्ला हुने गर्थ्यो तर यहाँ शान्त वातावरणमा पढ्न पाउँदा खुशी लागेको छ,’ उनले भने।
शिक्षकले पनि कुरा नबुझ्दा २/३ पटकसम्म बुझाइदिने उनको अनुभव छ। उनले थपे, ‘यस विद्यालयबारे पहिले नै थाहा पाएको भए पहिलै आउने थिएँ, यहाँबाट सम्पूर्ण ज्ञान लिएर जानेछु।’
कक्षा ८ देखि यहाँ पढाई शुरु गरेकी कक्षा १० की वसन्ती तामाङले दुई दशकअघि छुटेको पढाई अघि बढाएको बताइन्। उनले भनिन्, ‘घरायसी व्यवहारले पढाई छाडेँ। विवाहपछि पारिवारिक जिम्मेवारीले पढ्न पाइएन, २२ वर्षपछि पुनः पढ्न पाउँदा खुशी लागेको छ।’
जोरपाटीमा व्यवसाय गरेर बस्ने तामाङले धेरै वर्ष पढाई छुटेकाले पढेको कुरा बुझ्न गाह्रो हुने गरेको बताइन्। उनले भनिन्, ‘पढाई छाडेको धेरै भएकाले गुरुहरूले पढाएको कुरा फेरि सम्झिन गाह्रो हुन्छ, दोहोर्याएर सोध्नुपर्छ तर सरहरू झर्को नमानी राम्रोसँग सम्झाउनुहुन्छ।’
समयाभावले गृहकार्य गर्न गाह्रो हुने उनले बताइन्। ‘कामको थकाइले गृहकार्य गर्न समस्या हुन्छ, गुरुहरूले थप समय दिएर सहयोग गर्नुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरू झर्को मान्नु हुन्न, हाँसीहाँसी पढाउनुहुन्छ।’
अहिले पढ्न पाउँदा विद्यालयले बालाजीवन फर्काइदिएको अनुभव भएको उनको छ। ‘विद्यालयले फेरि बालापन फर्काइदिएको छ, यहाँ महिनामा एकपटक अतिरिक्त क्रियाकलाप हुन्छ, त्यहाँ आफ्नो प्रतिभा देखाउन पाइन्छ,’ उनले भनिन्।
उनले नन्दी रात्रि माविजस्तै विद्यालय विभिन्न ठाउँमा चाहिने बताइन्। ‘म जोरपाटीबाट आउँछु, यहाँ आइपुग्न निकै समय लाग्छ, विद्यालयले तोकेको समयमा पुग्न गाह्रो हुन्छ, राति घर फर्किन पनि समस्या हुन्छ। त्यसैले यसको शाखा ठाउँठाउँमा खोलेको भए अरू मानिसले पनि शिक्षित हुने अवसर पाउँथे,’ उनले भनिन्।
विद्यालयका सहायक प्रधानाध्यापक शिव शिवाकोटी पढ्ने इच्छाशक्ति भए पनि श्रममा व्यस्त रहेकालाई लक्षित गरी खोलिएको विद्यालय भएकाले यहाँका विद्यार्थीलाई सजिलो पार्न कक्षाकोठामै गृहकार्य गराइने बताउँछन्। विभिन्न उमेर समूहका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर सँगै पढाउँदा सबैलाई बुझाउन गाह्रो हुन्छ।
‘यहाँ पढ्न आउने विद्यार्थी विद्यालयभन्दा बाहिर विभिन्न कार्यमा आबद्ध हुन्छन्, त्यसैले एउटै तरिकाले सिकाउन नमिल्ने रहेछ, विद्यार्थीको अवस्था हेरेर पढाउनुपर्छ,’ उनले भने।
विद्यालयका प्रधानाध्यापक राजेश हुमागाइँ यस्ता विद्यालय अन्यत्र नभएको बताउँछन्। ‘पहिला विद्यालयको संख्या पनि न्यून थियो, सरकारी जागिर गरेकाको शैक्षिक योग्यता नहुँदा यो विद्यालयको स्थापना गर्नु पर्याे,’ उनले भने, ‘केही कारणवश पढाई छाडेकाहरू फेरि पढ्नुपर्ने रहेछ भन्ने लागेपछि यहाँ आउँछन्।’
कोरोना महामारीभन्दा अगाडि धेरै विद्यार्थी आउँथे यहाँ। अहिले घटेर २ सय छ। विद्यार्थी नियमित नहुनाले पठनपाठनमा समस्या पर्छ। विद्यालयको नतिजा राम्रो रहेको जिकिर उनले गरे। ‘यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अन्य स्कुलसँग तुलना गर्न त मिल्दैन,’ उनले भने, ‘तर नतिजा हेर्दा यहाँका विद्यार्थी प्रायः सबै उत्तीर्ण हुन्छन्।’
विद्यार्थीलाई पढ्न आउन सजिलो छ। तर राति यातायातको सुविधा नहुँदा घर फर्कन अप्ठ्यारो हुन्छ। एउटै भवनमा नन्दी रात्रि मावि र नन्दी मावि सञ्चालन हुन्छ। व्यवस्थापन फरक फरक भएकाले कक्षा कोठादेखि सरसफाइसम्ममा समन्वयको अभाव रहेको गुनासो छ।
नन्दी रात्रि विद्यालयका लागि छुट्टै भवनको व्यवस्था गरिदिन सरकारसँग माग गरिएको उनले जानकारी दिए। कम्प्युटर र विज्ञान प्रयोगशाला जस्ता पूर्वाधार अभावले आधुनिक प्रविधि उपयोग गरेर विद्यार्थीलाई पठनपाठन गर्न बाधा परेको गुनासो उनले गरे।
