
कास्की : मेरो नेपाल युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको छ। रगतको अभावले कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मुख्य उद्देश्यले बुधबार पोखरस्थित मझेरिपाटनमा कार्यक्रम आयोजना गरिएको हो।
क्लबका अध्यक्ष एकेन्द्र कुँवरले ‘फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बिगखबरलाई जानकारी दिए।
उनले रगतको कारण पनि मृत्यु शय्यामा पुगेको मानिसको जीवन बचाउन कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिए।
सौरभ कार्कीको संयोजनमा रहेको उक्त कार्यक्रममा पोखराका विभिन्न पेसा, व्यवसाय तथा संघ–संस्थासंग आबद्ध रहेका व्यक्तिको उत्साहजनक उपस्थिति रहेको थियो। अध्यक्ष कुँवरका अनुसार पोखरा महानगरपालिकाका- १४ का वडाअध्यक्ष बोधराज कार्कीको प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए ।
कार्कीले सामाजिक कार्य तथा नागरिकका सरोकारसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरूमा क्लबले खेलेको भूमिकालाई उच्च प्रशंसा गरे। क्लबले सामाजिक एकता र सुदृढिकरणका लागि यसअघि पनि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ।
अध्यक्ष कुँवरले यसअघि निःशुल्क बाल नृत्य कार्यक्रम आयोजना गरी ६० जना बालबालिकालाई बाल नृत्य प्रशिक्षण गरिएको पनि बताए। क्लबले पोखरा महानगरकै एक मात्र १४ मझेरी पाटनमा सामुदायिक व्यायामशाला पनि खोलेको छ। उक्त व्यायामशालामा दैनिक १ सय जना सहभागी हुने गरेका छन्।
