गण्डकीका मुख्यमन्त्री अधिकारीका पाँच निर्णय केके हुन्?

Share:


कास्की :
सोमबार शपथ ग्रहण गरे लगत्तै पदभार सम्हालेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विभिन्न निर्णय गरेका छन् । उनले शपथ ग्रहण पश्चात् विभिन्न ५ निर्णय गरेका हुन् ।

पहिलो निर्णय अन्तर्गत ‘लोकतन्त्रको लागि भएका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली  अर्पण गर्ने’ भन्ने निर्णय हो भने  ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने राष्ट्रसेवक कर्मचारीहरू र सरोकारवाला सबैमा बधाई तथा धन्यवाद प्रदान गर्ने’ पनि मुख्यमन्त्रीको दोस्रो निर्णय रहेको छ ।

‘प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न, सुशासन कायम गर्न र सेवा प्रवाह सहज बनाउनको लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठन गर्ने’ तेस्रो निर्णय रहेको छ भने ‘गण्डकी प्रदेशमा रहेका डायलिसिस सेवा आवश्यक पर्ने मिर्गौला रोगका बिरामीहरूलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने’ चौथो  निर्णय रहेको छ ।

पाँचौँ निर्णय भने  ‘माननीय सिता सुन्दासलाई मन्त्रिपरिषद्को प्रवक्ता तोक्ने’ भन्ने रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता बिना विभागीय मन्त्री सीता सुन्दासले डायलिसिस सेवा आवश्यक पर्ने बिरामीलाई प्रदेशका ११ वटै जिल्ला अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको बताइन् ।
गण्डकी प्रदेश सरकारमा जानका लागि सोमबार नेकपा (एमाले) की सीता सुन्दास, नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङलाई मन्त्रीमा नियुक्त गरिएको छ ।

मुख्यमन्त्री अधिकारी को हुन् ?

विसं २०७४ मा कास्की–१ बाट निर्वाचित भएर   संघीय ससंद्मा प्रतिनिधित्व गरेका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मिएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए । विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बिताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: