गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

Share:

गोरखा : जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण संकलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण संकलन भइसकेको  छ ।

गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट  नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

त्यस्तै अजिरकोट गाउँपालिकाबाट पाँच हजार पाँच सय ९८, आरुघाट गाउँपालिकाबाट आठ हजार ८४, गण्डकी गाउँपालिकाबाट १३ हजार छ सय दुई, धार्चे गाउँपालिकाबाट पाँच हजार नौ सय तीन जनाले फारम भरेका थिए । त्यसैगरी  भीमसेन थापा गाउँपालिकाबाट  छ हजार छ सय ९५, बारपाक सुलिकोट गाउँपालिकाबाट नौ हजार चार सय ८६, सहिद लखन गाउँपालिकाबाट १४ हजार दुई सय ९० र चुमनुव्री गाउँपालिकाबाट दुई हजार एक सय ३१ जनाले फारम भरेका छन् ।

त्यसबाहेक अन्य दुई हजार चार सय ३२ जनाले परिचयपत्र बनाएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गोरखामा गत साउन १५ गतेदेखि  राष्ट्रिय परिचयपत्रका लागि  विवरण संकलन अभियान सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: