
काठमाडौं : अनेरास्ववियुको महाधिवेशनमा उपाध्यक्ष पदका लागि पंकज भण्डारीले उम्मेदवारी दिने भएका छन्। पुस्ताहस्तरणको लागि आफ्नो उम्मेदवारी रहेको उनले जानकारी दिए ।
अखिलमा रहेर काम गर्ने विभिन्न व्यक्तिहरू भोलीका नेताहरू हुने बताउँदै उनले अखिलको एउटा कार्यकालमा पदाधिकारी भएको नेतृत्व दोस्रोपटक त्यसमै अड्की रहने यो प्रजातन्त्री अभ्यास नभएको जिकिर गरे ।
“जहिले पनि सरकारले चालेका गलत कदम, कमजोरीका विरुद्धमा र परिवर्तनका लागि लाग्ने अखिल एक माध्यम हो । त्यसैले पहिलो कार्यकाल केन्द्रीय कमिटी, दोस्रो कार्यकाल संगठन संरचनात्मक स्थायी कमिटी वा सचिवालय र तेस्रो कार्यकाल पदाधिकारी भएर त्यसपछि अध्यक्ष भए हुन्छ नभए पार्टीका लाग्ने हो । त्यसैले अहिले स्थायी कमिटी सदस्य भइसकेको र यसपटक उपाध्यक्ष र अर्को पटक अध्यक्षको तयारी गर्ने, भएन भने पार्टीका जाने हो”, उनले भने ।
वि.स. २०६० सालमा अखिलको राजनीतिमा होम्मिएका भण्डारीले आफूलाई उपाध्यक्ष पदको बलियो उम्मेदवार रहेको स्पष्ट पारे । उनले महेन्द्र रत्न क्यापस ताचलहबाट अध्ययन गरेका हुन् । उनी महेन्द्र क्याम्पसबाट सेक्सन, विषयगत देखी क्याम्पस कमिटी नेतृत्व गर्दै २१ औं राष्ट्रिय सम्मेलनमा उपत्यका भूगोलबाट राष्ट्रिय परिषद निर्वाचित भएका थिए । २२ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी उपत्यकाबाटै उनी निर्वाचित भएका थिए ।”अखिलको अधिवेशन नभएको ७ वर्ष भएको छ । अखिलको अधिवेशन नभएपनि अखिलले यो बीचमा दुई वटा अध्यक्ष पायो । म अहिले बागमती प्रदेश उपत्यकाका विशेष संयोजकका रुपमा छु । बागमती प्रदेशमा अधिवेशन हुन गइरहेकाले आफु प्रदेशको अध्यक्ष भएकाले मैले महाधिवेशनको विषयलाई लिएर विशेष जिम्मेवारी बहन गर्नुपर्छ”, उनले भने।
आगामी फागुन २, ३ र ४ गते एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन काठमाडौंमा हुँदैछ। प्रज्ञा भवनामा हुने २३ औं महाधिवेशनमा नेकपा एमालेका विद्यार्थी नेताहरू महाधिवेशनको तयारीमा संक्रियताका रूपमा जुटिरहेका छन् । महाधिवेशनले अनेरास्ववियुको नयाँ नेतृत्व चुन्ने छ । विद्यार्थी नेताहरू आफ्नो उम्मेदवारी र प्रचार प्रसारमा व्यस्त छन् ।
