पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा सात हजार विद्यार्थी दिक्षित

132
0
Share:

कास्की : पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गरेका हुन्।

पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो ।

उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ ।

विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ । पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिए ।

यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ ।

कमेन्ट गर्नुहोस्
Share: