राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

103
0
Share:

काठमाडौं : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ ।

 आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो, त्यसमा हामीले सहमति जनाएका छौँ ।”

 व्यक्तिगतरूपमा कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा कांग्रेस पार्टीले नै छनोट गर्ने उनको भनाइ थियो । बैठकपछि प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेता ज्वालाले भने, “आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ, सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”

 उपराष्ट्रपतिको निर्वाचनको सवालमा भने कुनै छलफल नभएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: