
तनहुँ : बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३÷११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेशनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ ।
यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेशनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३÷११ केभीको घिरिङ सबस्टेशन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।
सराङघाट सबस्टेशनमा ६÷८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि सबस्टेशनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेशनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् ।
दुई सबस्टेशन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग÷वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी)को सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट दुई सय २० किलोमिटर फिडर लाइन र तीन सय ५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।
