
बागलुङ : गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालू आर्थिक वर्षदेखि ओखर खेती थालेको छ ।
नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ ।
गण्डकीमा कोषमार्फत गलकोटसहित ३ पालिकामा कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पुर्यामउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ संघीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो ।
चालू आर्थिक वर्षमा २ करोड २० लाखको लागतमा ६२५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेको नगर प्रमुख भरत शर्मा गेरैले जानकारी दिए । ‘यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतीमा चालू आर्थिक वर्षमा २ करोड र ४ आर्थिक वर्षमा २ करोड गरी ४ करोड खर्च हुनेछ, यहाँका किसान उत्साहित भएका छन्, दुदीलाभाटी, डाँडाखेत र रमुवामा खेती लगाउने काम अन्तिम चरणमा पुगेको छ,’ नगर प्रमुख गैरेले भने, ‘मापदण्डअनुसारको खाल्टो तयार र आवश्यक सिँचाइको सुविधा भइसकेको र बिरुवा समेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ, बाँझो जग्गा सदुपयोग मात्रै होइन, त्यहाँका किसानले महंगो मूल्यमा ओखर बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।’
यस वर्ष २ करोड २० लाख रुपैयाँ लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने ४ आर्थिक वर्षमा पुनः २ लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेती गर्न अध्ययन गर्दा बाँझो जग्गा सदुपयोग समेत हुने गरी ओखर खेतीका लागि गरिएको प्रस्ताव स्वीकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । चालू आर्थिक वर्षमा १ करोड ४० लाख संघीय सरकार, गलकोट नगरपालिकाको ६० लाख र किसानको २० लाख सहकार्य हुने सुवेदीले बताए ।
नगरपालिकाको १ हजार ५०० मिटरदेखि २ हजार ५०० मिटर उचाइको जग्गामा १० हजार बिरुवा लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मल समेत राखिसकिएको छ ।
दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा ६२५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइनेछ । ‘६२५ रोपनी जग्गामध्ये ५०० रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुने र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ,’ कृषि शाखा प्रमुख सुवेदीले भने, ‘वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसान उत्साहित बनेर काम गरिराख्नुभएको छ, बिरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, १ महिनाभित्रै बिरुवा लगाउनेछौं ।’
