किसानको उत्पादनलाई बजारीकरण गर्दै पोखरा महानगर : कृषि एम्बुलेन्स सञ्चालनमा

Share:

कास्की : पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्छिन्, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् ।

उत्पादित तरकारी बिक्री गर्न उनलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्यसमेत पाउन मुस्किल थियो, । तर अहिले आफ्नै वडाको ठूलीपोखरीमा किसान बजारस्थल खुलेपछि उत्पादित तरकारी बिक्री गर्न गुरुङलाई शान्तिवन धाउनुपर्ने अवस्था हटेको छ ।

पोखरा–१९ पुरनचौरका किसान तुल्सी बाँस्तोलाको पीडा पनि गुरुङकै जस्तै छ । आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेँडा बिक्रीका लागि उहाँ पनि २० किलोमिटरको दूरी  पार गर्दै पोखरा–९ को शान्तिवनस्थित तरकारी बजारमा पुग्नुपर्ने अवस्था थियो तर शनिबारदेखि यस क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज आफ्नै वडामा किन्ने व्यवस्था पोखरा महानगरपालिकाले गरिदिएको छ ।

पोखरा  महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ । पोखरा महानगरपालिकाले एक महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसानको अनुहारमा खुसी छाएको छ ।

पोखरा महानगरपालिका वडा नं १९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा सञ्चालनमा ल्याइएको किसान बजारस्थलमा शनिबार तरकारी किन्न स्थानीयको भीड नै लागेको थियो । तरकारी किन्दै गरेका पोखरा–१६ निवासी वेनीबहादुर बस्नेतले भने, “किसान बजारसँगै हामी स्थानीय उपभोक्ताले ताजा र सस्तो मूल्यमा तरकारी उपभोग गर्न  पाएका छौँ । बिचौलिया हाबी नहुँदा किसानले समेत उचित मूल्य पाएका छन् ।”

स्थानीय उपपभोक्ताले बजारले नियमितता पाउनुपर्ने माग राखेका छन् । भारतबाट ल्याइएको बासी र विषादीयुक्त तरकारी उपभोग गर्नुपर्ने बाध्यता अब हामीलाई हटेको छ, स्थानीय दुर्गादेवी अधिकारीले भनिन् ।

वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेत रहेका छन् । उनले बजारलाई नियमितता दिने प्रयास आफ्नो रहने र फलफूलका साथै पछिल्ला दिनमा दूध र मासुको समेत व्यवस्था गरिने बताए । महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०–२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए । कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको छ ।

ठूलीपोखरीमा शनिबारदेखि सञ्चालनमा आएको किसान बजारस्थलको उद्घाटन पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नं १६ का अध्यक्ष अमृत तिमिल्सेना र पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनोहर कडरियाले सयुक्तरूपमा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: