तीनकुने छोडेर सिफलमा प्रदर्शन गर्ने तयारीमा दुर्गा प्रसाईंको समूह

158
0
Share:

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने भएको छ ।

तीनकुने र माइतीघरमा गर्न खोजिरहेको आन्दोलनबाट पछि हटेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले उक्त क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूह वैकल्पिक स्थानका रुपमा सिफलमा प्रदर्शन गर्ने भएको हो ।

सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

स्वयम् प्रसाईंले पनि आज तीनकुनेमा गरिने भनी तय गरीएको कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा हुने जनाएका छन् । बिहान फेसबुकमा प्रसाईंले अगाडि लेखेका छन्, ‘कार्यक्रम सोही समयमा हुने भएकाले सम्पुर्ण नागरिकहरूलाई सिफलचौरमा उपस्थित हुनुहुन अनुरोध गरिन्छ ।’

प्रर्दशनमा संयोजक दुर्गा प्रसाईँ पनि सहभागि हुने महाअभियानका प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए। त्यसका लागि प्रहरी प्रशासनसँग समन्वय भइसकेको पनि उनको दाबी छ ।

यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो । प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ । उनीहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरे पनि छुटाउने प्रयास भइरहेको महाअभियानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: