पोखराको चाउथेबाट जुवा खेल्दै गरेका ८ जना एक लाख सहित पक्राउ

Share:

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेका आठ जनालाई पोखरा महानगरपालिका–१४ चाउथेबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.का अनुसार पक्राउ पर्नेहरूमा पर्वतको कुश्मा नगरपालिका–१३ खौला स्थायी घर भई हाल चाउथेमा खाजा घर सञ्चालन गर्दै आएका ४५ वर्षीय प्रेम बहादुर कार्की, ललितपुर स्थायी घर भई हाल चाउथेमा बस्दै आएका २९ वर्षीय उत्तम बयलकोटी, शुक्लागण्डकी नगरपालिका–३ घर भई हाल चाउथेमा बस्ने ३४ वर्षीय महेन्द्र बहादुर भुजेल। पोखरा–२२ पुम्दीभुम्दी बस्न ३५ वर्षीय तेजराज बराल रहेका छन् ।
यस्तै मोरङको बेलबारी नगरपालिका–९ घर भई हाल चाउथेमै बस्ने ३३ वर्षीय अर्जुन पौडेल, चाउथेमै बस्ने ३५ वर्षीय राकेश चौधरी, पोखरा–४ सिद्धार्थ चोकमा बस्ने ५२ वर्षीय कमलराज लामिछाने र चितवनको भरतपुर महानगरपालिका–९ घर भई हाल चाउथेमै बस्ने ५२ वर्षीय एक बहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि प्रेम बहादुर कार्कीले सञ्चालन गरेको प्रज्वल प्रतीक खाजा घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जुवा खेल्दै गरेको स्थानबाट नगद एक लाख पाँच हजार रुपैयाँ पनि बरामद भएको छ ।
उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: