सहिद परिवारकी शर्मा अब राष्ट्रियसभामा

Share:

कास्की : राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गर्न सफल भएकी छन् । बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार उनी तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी भइन् ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा कहिले प्रत्यक्ष त कहिले समानुपातिकतर्फ उम्मेदवार बन्दा पनि निर्वाचित हुन नसकेकी शर्मा यसपालि भने सङ्घीय संसद्को उपल्लो सदन राष्ट्रियसभामा पुग्न सफल भइन् ।

विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतको कुश्मा नगरपालिका–१० की उनी त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेपनि सांसद बन्न सकेकी थिइन् ।

माओवादी केन्द्रले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा शर्मालाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । संसद् प्रवेश गर्ने उनको १६ वर्ष अघिदेखिको सपना अहिलेको राष्ट्रियसभा निर्वाचनमा आएर बल्ल पूरा भएको छ ।

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चलेपनि पार्टीले अर्के जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । यसअघि पटक–पटकको प्रयासका बावजुत संसदीय यात्रा तय गर्न नसकेपनि उनी निराश भने भएकी थिइनन् । पार्टी र सङ्गठनको जिम्मेवारीमा सँधै सक्रिय रहँदै आएको शर्माले बताइन् ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहेकी शर्मा सहिद परिवारको सदस्य हुन् । “आज म धेरै नै खुसी छ, जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ, पार्टी र आन्दोलनमा गरेको योगदानको कदर भएको महसुस भएको छ”, उनले भनिन्, “अब राष्ट्रियसभा सदस्यका रुपमा कानुन निर्माणदेखि देश र जनताको हितका काममा क्रियाशील रहन्छु ।”

यसअघि कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सँधै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उनले स्मरण गरिन् । शर्माले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन् ।
शर्माका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते राज्य पक्षका सुरक्षाकर्मीबाट हत्या भएको थियो ।

सुवेदी तत्कालीन नेकपा माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए । विजयसहित अन्य माओवादी कार्यकर्ताको स्याङ्जामा सामूहिक हत्या भएको थियो । ४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: