इजरायली आक्रमणमा श्रीमती र छोरीसहित १०३ जना आफन्त गुमाएका अहमद अल गुफेरी

161
0
Share:

अहमद अल-गुफेरी बमबाट बचेका थिए, तर उनको परिवारलाई बमले नै मार्यो। गाजा सहरमा भएको हवाई हमलामा उनका १०३ आफन्त मारिएका बेला उनी ८० किलोमिटर टाढा इजरायलले कब्जा गरेको वेस्ट बैंकको जेरिको सहरमा थिए।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा अहमद तेल अवीभको एउटा निर्माण कम्पनीमा काम गरिरहेका थिए। त्यसपछि इजरायली सरकारले नाकाबन्दीका कारण उनले श्रीमती र तीन छोरीलाई घर फर्काउन सकेनन् ।

केही समयका लागि फोनमा लगाइएको प्रतिबन्ध हटेपछि मात्रै उनले परिवारसँग कुरा गर्न पाएका थिए । ८ डिसेम्बरको साँझ बम पड्कँदा उनी श्रीमती शिरिनसँग फोनमा कुरा गरिरहेका थिए ।

अहमद भन्छन्, “उनी मर्नेछिन् भन्ने थाहा थियो। उनले भनेकी  थिइन् यदि मैले केहि गल्ती गरेको छु भने, कृपया मलाई माफ गर्नुहोस्। मैले भन्नु पर्दैन भनेँ । त्यो हामी बीचको अन्तिम कल थियो।”

त्यो साँझ अहमदको काकाको घरमा ठूलो बम खसालियो र उनकी श्रीमती र तीन छोरी ताला, तलना र नजलाको मृत्यु भएको थियो ।

अहमदकी आमा, चार दाजुभाइ, उनीहरूका परिवार, काका-काकी र उनीहरूका छोराछोरी पनि मारिए। उक्त हमलामा१०० भन्दा बढीको ज्यान गयो।

आक्रमण भएको दुई महिनाभन्दा बढी भइसक्यो तर केहीको शव अझै पनि भग्नावशेषमुनि दबिएका छन् । गत हप्ता अहमदकी कान्छी छोरीको जन्मदिन थियो। नजला दुई वर्षकी भइन् ।

अहमद अझै पत्याउँदैनन् उनलाई के भयो। उनले न त आफ्ना छोराछोरीलाई अन्तिम पटक देख्न पाए न त उनीहरुको अन्त्येष्टिमा उपस्थित हुन सके ।

उनी अझै पनि आफ्ना छोराछोरीहरू जीवित छन् जस्तो गरी कुरा गर्छन्। आँखाबाट आँसु बगिरहेको छ तर अनुहार ढुङ्गा जस्तै भएको छ । उनी भन्छन्, “मेरा छोरीहरू साना चराहरूजस्तै छन् । सपना देखे जस्तो लाग्छ ।”

अहमदले आफ्नो फोन र ल्यापटपको स्क्रिनबाट  छोरीहरूको तस्बिरहरू नदेखिने गरी हटाएका छन्।

त्यो साँझ के भयो भन्ने बारे जानकारी सङ्कलन गर्न, अहमदले आक्रमणबाट बाँचेका आफन्त र छिमेकीहरूलाई पनि सोधेका थिए ।

अहमदले यसअघि उनको घरको प्रवेशद्वारमा मिसाइल खसेको बताउँछन् ।

उनी भन्छन्, “ परिवार बसेको चार तले घर गाजा शहरको जैतौन क्षेत्रमा रहेको साहाबा मेडिकल सेन्टरको छेउमा थियो।”

अहिले यहाँ कंक्रीटको फोहोर छरिएको छ । त्यसमा केही रंगीन दागहरू देखिन्छन्। त्यहाँ केही प्लास्टिकका कपहरू, कपडाका टुक्राहरू छरिएका छन्। नजिकै कंक्रीट मुनि गाडिएको कार छ।

आक्रमणमा बाँचेका अहमदका आफन्त हमिद अल गुफेरीले बीबीसीसँग भने कि आक्रमण सुरु हुँदा पहाडतर्फ दौडिएका मानिसहरूलाई बचाइएको थियो। घरमा शरण लिनेहरू मारिए।

उनी भन्छन्, “उनीहरूले हाम्रो घर नजिकैका चारवटा घरमा आक्रमण गरे। प्रत्येक दश मिनेटमा एउटा घरलाई निशाना बनाउँदै आएका थिए।”

हमिदले भने, “घुफेरी परिवारका ११० सदस्य त्यहाँ थिए । हाम्रा छोराछोरी, हाम्रा आफन्तहरू। केही बाहेक, सबै मारिए।”

मारिएकामध्ये सबैभन्दा जेठी ९८ वर्षीया महिला र सबैभन्दा कान्छी नौ दिनअघि जन्मेको बच्चा रहेका छन् ।

अहमदका भाइ, जसको नाम पनि अहमद हो, भन्छन् कि हवाई हमला पछि दुईवटा ठूला विस्फोटहरू भएका थिए।

यसबारे बीबीसीले इजरायली सेनालाई यस परिवारको आरोपको बारेमा सोधेको छ। इजरायली सेनाले यो आक्रमणको बारेमा आफूलाई जानकारी नभएको बताएको छ ।

सेनाले हमाससँग चलिरहेको युद्धमा सर्वसाधारणलाई हुने क्षतिलाई कम गर्न सकेसम्म धेरै सावधानी अपनाएको बताएको छ।

अहमदको घरमा आक्रमण हुनुअघि र पछि अल गुफेरीको घरबाट केही मिटर टाढा शेजैया क्षेत्रमा इजरायली सेना र हमास लडाकुहरूबीच भीषण युद्ध चलिरहेको थियो ।

बीबीसीबाट साभार

कमेन्ट गर्नुहोस्
Share: