
केजीएफ र केजीएफ २ का नायक यश अब खलनायक बन्नेछन्। उनी रणवीर कपूर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन्। दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन्।
विशेष कुरा के छ भने यशले यो भूमिकाका लागि १५० करोड भारु पाएका छन्। यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक रहेको भारतीय समाचार संस्था दैनिक भाष्करले जनाएको छ।
मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन्।
बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन।
रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन्।
