
काठमाडौँ। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हालसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ। सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थलमा भएको बताइएको छ।
त्यहाँ हालसम्म झण्डै २९७.४ मिलिमिटर वर्षा भएको छ। यस्तै गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ।
अत्यधिक वर्षा भएपछि झापा प्रशासनले नदी तथा खोलाहरुमा बहाव बढेको र डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।प्रशासनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाउन भनिएको छ।
यसैगरी झापाको छिमेकी जिल्ला इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ। मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ।
वर्षा विस्तारै पश्चिमतिर पनि बढ्दै गएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको मौसम विभागले जनाएको छ। पानी निरन्तर परिरहेको छ।
गएरातिदेखिको बर्षाका कारण देशभरको जनजीवन पनि प्रभावित भएको छ। बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन कठिन भएको छ।
