
काठमाडौँ। विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन्।
सेवा निवृत्त हुन एक सातामात्रै बाँकी रहँदा शुक्रबार बोलाइएको न्यायपरिषद्को बैठकमार्फत उनले उच्च अदालतका दुईजना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गराउन सफल भएका हुन्।
रामशाहपथस्थित परिषद् सचिवालयमा बिहान १० बजेदेखि बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।
न्याय परिषद्को सचिवालयमा बैठक बसिरहँदा बाहिर भने वकिलहरूले विरोध जनाएका थिए। विरोधबीच न्यायाधीश नियुक्त गर्ने तयारी भएको थियो।
प्रधानन्याधीश श्रेष्ठले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेका थिए। तर अन्य सदस्यको असहमतिका कारण दुईजना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको हो।
